काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउने भएको छ ।
साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको ब्रेक–सु सहितको सुन राजश्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो ।
राजश्व अनुसन्धान विभागले १८ दिनसम्म अनुसन्धान गरेको सुन तस्करीमा संगठित गिरोह संलग्न भएको पाइएपछि थप अनुसन्धानका लागि सीआईबीलाई दिएको थियो ।
सुन तस्करीमा संलग्न भएको भन्दै प्रहरीले भन्सार कार्यालयका कर्मचारी, पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल तथा केही चिनियाँ र भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ ।
आरोपीविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउन राय दिने सीआईबीको तयारी छ ।
संगठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ । यही भदौ ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने भएकाले प्रहरीले हालसम्म भएको अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो ।
यसबारे जानकारी दिन सीआईबीले आज ११ः३० बजे पत्रकार सम्मेलन आयोजना गरेको छ ।























