काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा अध्यक्ष एवं पार्टीका उपाध्यक्ष सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूले नेम्वाङप्रति श्रद्धाञ्जली दिएका हुन्। उनीहरुले फूलमाला चढाएर श्रद्धाञ्जली व्यक्त गरे ।
यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जली दिएका थिए ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । श्रद्धाञ्जली दिन एमाले नेता,कार्यकर्ता र शुभचिन्तकहरूको पार्टी कार्यालयमा भीड लागेको छ।
हृदयघात भएपछि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराउने क्रममा मंगलबार राति १ :३० बजे निधन भएको थियो । नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन पार्टी कार्यालयमा राखिएको हो । नेम्वाङको पार्थिव शरीर आज दिनभर एमाले पार्टी कार्यालयमा राखिने जनाइएको छ ।
सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। तर, छोराहरू विदेशमा रहेकाले उनीहरू आएपछि मात्रै नेम्वाङको अन्त्येष्टि गरिने जनाइएको छ।




















