काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट एमाले पार्टी कार्यालय च्यासल लगिएको छ ।
प्रतिनिधिसभाका सांसद नेम्वाङको शव नेपाली सेनाको गाडीमा हालेर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले केन्द्रीय कार्याल च्यासलमा लगिएको हो ।
उनको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि राखिने छ । उनका दुवै छोरा अस्ट्रेलिया र बेलायतबाट आएपछि मुन्धुमी विधिअनुसार अन्तिम संस्कार गरिने बताइएको छ।
सरकारले नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।
बालुवाटारस्थित निवासमा बिहान साढे १ बजे हृदयघातपछि उनलाई अस्पताल लगिएको थियो । अस्पताल नपुग्दै बीच बाटोमै उनको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए ।