काठमाडौं । नेकपा (एमाले) ले पार्टीको सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । अर्को सूचना जारी नभएसम्म पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
गएराति पार्टी उपाध्यक्ष सुवास नेम्वाङको हृदयाघातबाट निधन भएपछि एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम स्थगन गरेको हो ।
कार्यवाहक महासचिव ज्ञवालीले फेसबुकमा लेख्दै भनेका छन् –
“हाम्रो पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष एवम् प्रतिनिधिसभाका पूर्व सभामुख माननीय सुवासचन्द्र नेम्वाङको निधनको जानकारी गराउनु पर्दा हामीलाई औधी पीडा भइरहेको छ । हाम्रो पार्टीका संसदीय दलका उपनेता तथा इलाम– २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय नेम्वाङको आज बिहान १स्४० बजे त्रि।वि। शिक्षण अस्पतालमा उपचारको क्रममा हृदयघातबाट निधन भएको जानकारी अस्पतालले गराएको छ ।
उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि अहिले बिहान ९ बजेपछि तुल्सीलाल स्मृति हल, पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा राखिने छ ।
शोकको यस घडीमा पार्टी र पार्टी सम्बद्ध जनसंगठनका सबै कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।”
यसैवीच चीन भ्रमणमा रहेका महासचिव शंकर पोखरेल पनि भ्रमण छोट्याएर आज नेपाल फर्किदैछन् ।
संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्याशित निधन भएपछि महासचिव पोखरेल नेतृत्व आज नेपाल फर्किन लागेको हो ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा रहेको टोली पूर्व निर्धारित सम्पूर्ण कार्यक्रम रद्द गरेर नेपाल फर्किन लागेको बताइएको छ । आजै छिङ्हाईको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किन जनाइएको छ ।
भ्रमण दलको सबै सदस्य फर्किने निर्णय भएको स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिएका छन् । भ्रमण दलको सदस्यको टिकटको व्यवस्थापनको प्रयास भइरहेको बताइएको छ ।