काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले भन्सार जाँचपास ठप्प पारेका छन् । साउन २ गते विमानस्थल भन्सारबाट बाहिरिए पछि समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान सुरु गरेपछि कर्मचारी आन्दोलित भएका हुन् ।
सुन तस्करी अनुसन्धानको नाममा प्रहरीले आफूहरुमाथि धरपकड गरेको भन्दै विमानस्थल भन्सार कार्यालयका कर्मचारीले सामुहिक सरुवा माग गरेका थिए । आज उनीहरुले विमानस्थल भन्सारको कार्गोतर्फका सबै सेवा ठप्प पारेका छन् ।
हिजोबाट पेन डाउन गरेर आन्दोलन सुरु गरेका कर्मचारीले आजबाट सेवा ठप्प पारेका छन् । औषधिबाहेकको भन्सार जाँचपास नहुने वताउँदै कर्मचारीले भोलि पनि सेवा अवरुद्ध हुने बताएका छन् ।
६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान विभागले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ ।
सुन प्रकरणमा प्रहरीले विमानस्थल भन्सारका अन्य कर्मचारीसँग पनि बयान लिइरहेको छ भने केही कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
























