सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु आज बिहानदेखि हटेको छ भने २७ गतेसम्म कुनै पनि किसिमका भेला, आमसभा, प्रदर्शन र पर्चा पप्लेटिङ गर्न नपाइने गरी निषेधाज्ञा जारी छ ।
कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्म कर्फ्यु जारी गरेको थियो ।
स्थिति सामान्य भएपछि आज बिहानबाट कर्फ्यु हटाइएको तर २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।
सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै साविक मलंगवा नगर क्षेत्रको पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा बाबा पेट्रोल पम्पसम्मको क्षेत्रभित्र कुनै पनि प्रकारको भेला, जुलुश, बैठक, गर्न नपाइँने स्थानीय प्रशासनले आइतबार बिहान जारी गरेको सूचनामा उल्लेख छ ।
कर्फ्यु हटेपछि मानिसहरुको चहलपहल बढ्न थालेको छ भने लामो तथा छोटो दुरीका यातायातका साधन पनि चल्न थालेका छन् ।
जिल्ला सुरक्षा समितिको बैठकले धार्मिक, जातीय र सांस्कृतिक कायम राख्न सबैलाई आह्वान गरेको छ ।