मोरक्को । मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ भने १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते रहेको गृह मन्त्रालयले शनिबार जनाएको छ ।
मोरक्कोको स्थानीय समयअनुसार शुक्रबार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।
भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ ।
भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् ।
शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का शनिबार पनि महसुस गरिएको मोरक्कोका सञ्चार माध्यमले बताएका छन् । शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको उनीहरूले समाचारमा उल्लेख गरेका छन् ।
भूकम्पले निम्ताएको विनासपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । साथै भूकम्प पीडितहरुलाई आवास, खाना र अन्य सहयोगका लागि आह्वान गरेको छ ।

























