काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलु्कको अर्थतन्त्रमा सुधारको राम्रो संकेत देखा परेको बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमा बोल्दै अर्थमन्त्री महतले राम्रो संकेत देखा परे पनि ढुक्क हुने अवस्था र चुनौतीहरू भने कायमै रहेको बताए।
उनले अर्थतन्त्रमा देखा परेका समस्याहरूलाई हटाएर आर्थिक वृद्धि बढाउने राम्रो अवसरहरू आउन लागेको विश्वास व्यक्त गरे। यसका सकारात्मक संकेतहरू देखा परिरहेको उनको भनाइ छ।
मन्त्री महतले नेपालको विदेशी मुद्राको संचिति राम्रो रहेको बताए । पर्यटक आवागमन राम्रो भइरहेकाले यसले आर्थिक गतिविधि बढाउने उनको भनाइ छ। हाइड्रोपावर क्षेत्रले प्रगतिको लय लिएको भन्दै अर्थमन्त्री महतले भारतसँग विद्युत व्यापारले लगानीकर्ताले सुनिश्चित मार्केट प्रदान गरेको जिकिर गरे ।
मन्त्री महतले चीनसँग पनि विद्युत व्यापारसम्बन्धी छिट्टै समझदारी हुने विश्वास व्यक्त गरे।
भारतको मन्त्रिपरिषद बैठकले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रस्ताव स्वीकृत गरिसकेको छ। यो निर्णयसँगै नेपाल र भारतको लगानीका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली दीर्घकालीन ऊर्जा व्यापार सम्झौता गरेर बेच्ने बाटो खुलेको हो।

























