काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको छ । रिजालको पार्थिव शरीरमा मेयर बालेन्द्र साह (वालेन)ले झण्डा ओढाएका छन् ।
साढे १ बजेदेखि साढे २ बजेसम्म पशुपति मन्दिर परिसर श्रद्धाञ्जलीका लागि राखेर अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको बताइएको छ । रिजाललाई श्रद्धाञ्जली दिन अर्थमन्त्री प्रकाशशरण महत, कांग्रेस महामन्त्री गगन थापा, उपमेयर सुनिता डंगोललगायतका नेता, कार्यकर्ता, जनप्रतिनिधिहरु राष्ट्रिय सभा गृह पुगेका थिए ।
रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा निधन भएको थियो । क्षेत्र नम्बर ७ का नेपाली कांग्रेसका सभापति समेत रहेका रिजालको निधन डेंगीबाट नभई भाइरल निमोनियाबाट भएको ग्राण्डी अस्पतालले जनाएको छ ।
ग्राण्डीमा उपचाररत रिजालको आज बिहान ७ः३० बजे निधन भएको थियो । अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेले प्रेस विज्ञप्ति जारी गर्दै भदौ १७ गते दिउँसो एक बजे दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भई रिजाल सघन उपचार कक्षमा भर्ना भएको जनाएका छन् ।
सुरुमा श्वासप्रश्वासको समस्या देखिए पनि पछि उनमा रगतको संक्रमण र मिर्गौलामा पनि असर परेको विज्ञप्तिमा जनाइएको छ ।
अस्पतालका एक चिकित्सकका अनुसार रिजाल अस्पताल पुग्दाखेरी नै फोक्सोमा गम्भीर असर देखिएको थियो । डेंगीले छातीमा असर नगर्ने उनले बताएका छन् ।
अस्पतालका अनुसार रिजाललाई अस्पतालमा मेसिनको सहायताले अक्सिजन दिइएको थियो । त्यसपछि घाँटीमा प्वाल पारेर तरल पदार्थ खान दिइएको थियो । तर उनलाई सुधार हुनुको साटो पूरै शरीरमा रगतको संक्रमण फैलिएको थियो ।
वडाअध्यक्ष रिजालको समस्यालाई डाक्टरहरुले ‘सेप्सिस’ भनेका छन् । ‘त्यसमा डेंगी पनि थपियो होला त्यो अलग कुरा हो तर डेंगीले मृत्यु भएको चाहिँ होइन, भाइरल संक्रमणको कारणले हो,’ ग्राण्डी अस्पतालका एक चिकित्सकले भनेका छन् ।





















