बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल दुई मत बढीले विजयी भएका छन्। बुधबार बिहान २ बजे सम्पन्न मतपरिणाम अनुसार कँडेलले ४ सय ७९ र उनका निकटतम प्रतिस्पर्धी प्यूठानका हरिप्रसाद रिजालले ४ सय ७७ मत लिए। चुनावी मतगणना स्थलमा उनीहरुबीचको प्रतिस्पर्धा रोचक देखिन्थ्यो।
१२ जिल्लाका कुल १ हजार ५ जना मतदातामध्ये ९ सय ६५ मात्र मत खसेको थियो। ४० जना मतदान गर्न आएनन्। रिजाल र कँडेलको प्रतिस्पर्धालाई एमालेभित्र कतिपय नेताहरुले प्रतिष्ठाको विषय बनाएका थिए। अन्तिममा सहमति नजुटेपछि नेताहरु प्यानलै बनाएर चुनावी मैदानमा होमिएका हुन्।
रिजाललाई पार्टी महासचिव शंकर पोखरेल र कँडेललाई उपाध्यक्ष विष्णु पौडेलको साथ रहेको तल्लो तहको नेता, कार्यकर्तामा समेत प्रष्ट हुने गरी गुट अधिवेशनमा झांगिएको थियो।
अधिवेशनबाट उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, रोल्पाका पूर्ण बहादुर बुढामगर र बर्दियाका लिला रानामगर विजयी भएका छन्।
को हुन् कँडेल ?
चुनौतीको घडीमा तदर्थ कमिटी हुँदै प्रदेशको नेतृत्व गरेको र एकपटक अधिवेशनबाट निर्वाचित भएर पुनः नेतृत्व गर्ने संकल्प बोकेका थिए कँडेलले। उनी लगातार २० वर्ष पार्टी जीवनमा क्रियाशिल छन्। जिल्ला, साविक अञ्चल हुँदै अहिले उनी प्रदेशको नेतृत्वमा निर्वाचित भए ।