काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बेरुजु फर्छ्यौटलाई प्रभावकारी बनाउन प्रतिवद्धता सहितको कार्ययोजना बनाउन सचिवालयलाई निर्देशन दिएका छन्।
मंगलबार बसेको सार्वजनिक लेखा समिति बैठकमा सभापति पोखरेलले विद्यमान ऐन नियममा सुधार र प्रतिवद्धता सहितको कार्ययोजना बनाउन समिति सचिवलाई निर्देशन दिएका हुन् । उनले सचिवालयले कार्ययोजना बनाउँदा समितिमा उपसमिति निर्माण गर्दा नीतिको आधारमा निर्माण गर्ने गरी बनाउन पनि आग्रह गरे ।
सभापति पोखरेलले उपसमितिमा तत्काल रिटायर्ड मन्त्री,लगातार एउटै उपसमितिमा बसेर काम गर्ने सदस्य र पेशा व्यवसाय मिल्ने सांसदहरूलाई राख्दा स्वार्थ बाझिने भएकाले नराख्न आग्रह गरे।
समितिका २७ जना सांसदहरूले काममा गति दिनसके समितिको काम प्रभावकारी हुने बताए। उनले समितिले तत्काल बेरुजु,महालेखा र लेखा उतरदायीहरुको बीचमा अन्तरसंवाद र लेखा समितिका सदस्यहरू र सचिवालयको क्षमता अभिवृद्धि गर्ने अनिर्वाय आवश्यकता रहेको बताए ।
उनले समितिमा पर्ने उजुरीहरूको समितिमा छलफल हुने तर अध्ययन अनुसन्धान नगर्दा परिणाम आउन नसक्ने अवस्था रहेको भन्दै आगामी दिनमा समिति सदस्यहरूले अध्ययन गर्न आवश्यक रहेको बताए ।
बैठकमा एमाले सांसद योगेश भट्टराईले राजनीतिक दलहरू पारदर्शी र जवाफदेही बन्नुपर्नेमा जोड दिए।
राजनीतिक दलहरूको आर्थिक व्यवहारलाई पनि संसदीय समितिले हेर्नुपर्ने बताए । सांसद भट्टराईले लेखा समितिले राजनीतिक दलसँग सम्बन्धित विषयलाई पनि आफ्नो क्षेत्राधिकार भित्र राख्नुपर्ने बताए ।

























