राजविराज । मधेस प्रदेशसभा सदस्यमा सप्तरीबाट निर्वाचित बोदे बरसाइन नगरपालिका-५ का अनिरुद्धकुमार सिंह यादवलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले पटक पटक पक्राउ नपरेको प्रतिवेदन दिएपछि मुल्तबीमा राखिएको कर्तव्य ज्यान मुद्दाका फरार आरोपी प्रदेशसभा सदस्य यादवलाई राजविराजबाट नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जानकारी दिएको छ। यादव जसपा नेता एवम् पूर्व मन्त्री मृगेन्द्र सिंह यादवका भाइ समेत हुन् ।
नेकपा माओवादीका नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६८ चैत १९ गते मुल्तबीमा राखिएको मुद्दामा यादवसमेत ९ जना आरोपी छन् । पक्राउ परेका प्रदेशसभा सदस्य यादवलाई सप्तरी जिल्ला अदालतमा सोमबार नै पेश गरिएको छ ।























