काठमाडौं । कोशी सरकार गठनविरुद्धको मुद्दा आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई हुँदैछ । न्यायाधीशहरु सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा परेको सो मुद्दा आजदेखि निरन्तर सुनुवाइ हुनेछ । हिजो सपना मल्ल प्रधान र शुष्मलता माथेमाको इजलासले सो मुद्दा पूर्ण इजलासमा लैजाने आदेश भएको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिट निवेदनको सुनुवाइका लागि आइतबारको इजलासमा विपक्षीहरूका तर्फबाट सुरुमा संवैधानिक इजलासको माग भएकामा न्यायाधीशद्वय मल्ल र माथेमाले पूर्ण इजलासमा निरन्तर सुनुवाइबाट टुंग्याउने गरी आदेश दिएका थिए ।
भदौ ७ को प्रारम्भिक सुनुवाइमा न्यायाधीश खतिवडाको एकल इजलासले सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको ठहर गरेको छ ।
सर्वोच्चले दीर्घकालीन असर पर्ने प्रकृतिका साथै नीतिगत प्रकृतिका निर्णय नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको उक्त आदेशले मुख्यमन्त्री थापा नेतृत्वको सरकार कामचलाउ अवस्थामा छ ।
मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले समेत विश्वासको मत दिएका थिए । यस्तै अध्यक्ष मण्डलकी सदस्य गीता तिम्सिनाले समेत मत दिएको विषयमा समेत कार्कीले विपक्षी बनाएका छन् ।
























