काठमाडौँ । साताको पहिलो कारोबार दिन शेयर बजार नेप्से परिसूचक २९.८१ अंक घटेर १९६०.७८ विन्दुमा झरेको छ ।
त्यसैगरी सेन्सेटिभ इण्डेक्स ५.०९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९८ अंक र सेन्सेटिभ इण्डेक्स १.६८ अंक घटेको छ।
नेप्से परिसूचक घटे पनि कारोबार रकम सामान्य बढेको छ । अघिल्लो कारोबार दिन १ अर्ब १३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७६ स्टकको ३७ हजार ४१ पटकको कारोबारमा १ अर्ब १८ करोड ६६ लाख रुपैयाँ बराबरको ४० लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से घटे पनि थ्रीस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य २३ रुपैयाँ १० पैसा बढेर २५४ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यस्तै, सिक्लेस हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ। दुई स्टकको नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
लिबर्टी इनर्जी र सिटि होटलको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, ग्रीन भेन्चर्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । सो होटलको ३ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी आइएमई लाइफ इन्स्योरेन्स र सिटि होटलको साढे ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक ३.०३ प्रतिशत घटेको छ। त्यसैगरी, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त, लगानी, लघुवित्त, म्युचुअल फण्ड, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

























