विराटनगर । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले भ्रष्टाचारी जोसुकै होस् कानुनको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पर्यटनमन्त्री किराँतीले सबै भ्रष्टाचारसम्बन्धी मुद्दामा सुक्ष्म ढंगले अनुसन्धान हुनुपर्ने बताए ।
सुन प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष तथा पृर्वसभामुख कृष्णबहादुर महरालाई सरकारले किन पक्राउ नगरेको भनी पत्रकारले सोधेको प्रश्नमा मन्त्री किराँतीले सुन प्रकरणमा अनुसन्धान जारी रहेकाले पक्राउ गरिहाल्नुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिए ।
उनले हल्लाको भरमा नभइ जरैदेखि अनुसन्धान हुनुपर्ने बताए ।
तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि पूर्वसभामुख महरा र उनका छोरा राहुलको संलग्नता रहेको सीआईबीको अनुसन्धानले देखाएको छ ।
इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग महरा र छोरा राहुलले २५६ पटक संवाद गरेको प्रतिवेदन यसअघि नै सीआईबीले सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। तर हालसम्म महराविरुद्ध मुद्दा चलाइएको छैन ।
सोही प्रकरणमा राहुल पक्राउ परे पनि महरालाई पक्राउ नगरेको विषयमा सरकारको आलोचना भइरहेको छ ।























