काठमाडौँ । काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकअन्तर्गत पेप्सिकोला छाप्रो भन्ने स्थानमा आज बिहान भएको सवारी दुर्घटनामा घाइते भएकी सशस्त्र प्रहरी जवानको पाि मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बल नम्बर २० विपद् उद्धार उपत्यका गण सिनामंगलमा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापाको निधन भएसँगै उक्त दुर्घटनामा मृत्यु भएकाको संख्या २ पुगेको छ। यसअघि सर्लाही घर भएका २८ वर्षीय राज भट्टराईको मृत्यु भएको थियो ।
यस्तै दुर्घटनामा घाइते सशस्त्र प्रहरीकै जवान स्वस्थानी खड्काको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आज बिहान साढे ७ बजे बा ३ ख ४१४८ नम्बरको बसले बा ६ च ५३४२ नम्बरको पिकअप, बा. प्र.०२–०३७ प ४३११ नम्बरको स्कुटर र बा. प्र–०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकललाई एकसाथ ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा दोलखा भीमेश्वर नगरपालिका घर भई हाल इमाडोल बस्ने वर्ष ५२ का कुमारबहादुर खाती, उदयपुर गाईघाट घर भई हाल काँडाघारी बस्ने वर्ष २३ की कल्पना विक र मकवानपुर घर भई हाल पेप्सीकोला बस्ने वर्ष १९ की रमिता प्रजा सामान्य घाइते भएका छन् ।
घाइतेहरूको उपचार वीर र सिभिल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।



















