काठमडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (वालेन)ले आफ्नी पत्नी चढेको महानगरपालिकाकै सरकारी गाडी कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर सोधपुछ गर्दा आक्रोश पोखेका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमार्फत संघीय सरकारलाई ‘चोर’को संज्ञा दिएका छन् भने ‘सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् ।
शनिबार राति करिब ८ः५० बजेतिर सरकारी नम्बर प्लेटको गाडी ललितपुरको बालकुमारीतर्फबाट कोटेश्वर चोकतिर आएको देखेपछि चेकिङ गर्ने ड्युटीमा रहेका ट्राफिक प्रहरीले सो गाडीलाई रोकेर सोधपुछ गरेका थिए । चालकले काठमाडौं महानगरपालिकाका मेयरको गाडी हो, गाडीमा मेयर पत्नी रहेको जानकारी गराए । ट्राफिकले शनिवार सरकारी गाडी चलाउन पाइदैन, चलाउनु परे पास लिनु पर्ने बताएर तीन मिनेट जतिमा छाडिदिएका थिए । त्यसपछि गाडी गैरिगाउँतर्फ गएको थियो । त्यसको केही समयमै मेयर बालेन्द्रले फेसवुकमा लेखेका छन्, “आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।” तर स्टाटसमा उनले सन्दर्भ खुलाएका थिएनन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार शनिबार राति बालकुमारीबाट कोटेश्वरतिर सरकारी नम्बर प्लेटको गाडी तीव्र गतिमा आइरहेको थियो । नियमित चेकजाँचका क्रममा कोटेश्वर ट्राफिक प्रहरी वृत्तको टोलीले उक्त गाडीलाई रोकेर सोधपुछ गरेको थियो । जसमा मेयर शाहकी श्रीमती चढेकी थिइन् । चेकजाँचका क्रममा सरकारी नम्बर प्लेटको गाडी देखिएपछि अनुमति (पास) लिइएको छ कि छैन भनेर सोध्दा छैन भन्ने जवाफ आएपछि ट्राफिक प्रहरीले गाडी छाडेको थियो ।
सो घटनापछि श्रीमती घर पुग्नासाथ मेयर साहले लेखेको अराजक स्टाटस भाइरल भएको छ ।
सामाजिक सन्जाल प्रयोगकर्ता मध्ये धेरैले उनको चर्को आलोचना गरिरहेका छन् । कतिपयले उनलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् भने कतिपयले दम्भ धेरै भयो भन्दै आलोचना गरिरहेका छन् ।

कतिपयले साहको समर्थन पनि गरेका छन् । मेयर साहको आक्रोशपूर्ण ‘अराजक’ अभिव्यक्तिमा धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले पनि समर्थन जनाएका छन् । उनले साहको अभिव्यक्ति आए लगत्तै ट्वीटरमा सेयर गर्दै समर्थन जनाएका हुन । उनले लेखेका छन् – “भएको के हो थाह त छैन, तर काम गर्नेलाई रोकटोक नहोस् ! धरानबाट पूरा समर्थन छ बालेन ज्यु ! अगाडि बड्नुस् !💞”
यो समाचार तयार पार्दासम्म बालेनको पोष्टमा साढे ३ लाख बढी लाइक गरेका छन् भने एक लाख पाँच हजारले कमेन्ट गरेका छन् । ३९ हजार सेयर भएको देखिन्छ ।
मेयर साहले तत्कालै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई टेलिफोन गरी गाडी रोकिएको आक्रोश पोखेको स्रोतको दावी छ । मेयर साहले ‘महानगरको गाडी चौबीसै घण्टा ड्युटीमा हुन्छ । किन रोकेको ?’ भन्दै आक्रोशपूर्ण प्रश्न गरेकोे स्रोतले बताएको छ ।
प्रजिअ बस्नेतले के भएको हो सो बारे बुझ्ने बताएर फो राखिदिएका थिए । त्यसपछि प्रजिअ बस्नेतले ट्राफिक प्रहरी प्रमुख पोषराज पोखरेलसँग घटनाबारे बुझेका थिए । प्रहरी युनिटले गृहमन्त्रीको सचिवालयमा समेत घटनाबारे जानकारी गराएको थियो ।
प्रजिअ बस्नेतले शान्ति सुव्यवस्था कायम राख्न चेकजाँच गर्ने, सोधपुछ गर्ने सामान्य प्रक्रिया भएको बताएका छन् ।
शान्ति, अमन चयन कायम राख्नका लागि नियमित रुपमा भइराख्ने काममा मेयरको पनि भूमिका हुने बताउँदै प्रजिअ बस्नेतले शान्ति सुरक्षामा खलल पुग्ने, सुरक्षा युनिटलाई हतोत्साही बनाउने अभिव्यक्ति कोही, कसैले पनि दिन नहुने बताएका छन् ।




















