काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधिश विनोद शर्मा उपर उजुरी दिन आह्वान गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले न्याय परिषद्द्वारा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका विनोद शर्माउपर उजुरीका लागि आह्वान गर्ने निर्णय गरेको हो ।
समितिका सभापति पशुपतिशम्शेर जवराले संसदीय सुनुवाइको कार्यविधिअनुसार उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उनले बताए ।
यसअघि भाद्र १० गते बसेको न्याय परिषद्को बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । उनलाई यसअघि पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको थियो । तर, संसदीय सुनुवाइ नहुँदा नियुक्ति प्रक्रिया रोकिएको थियो ।