सिन्धुपाल्चोक । चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबार बिहानदेखि खुला भएको छ । आठ वर्षदेखि बन्द तातोपानी नाका सर्वसाधारणको लागि खुला भएको हो।
भोटेकोशी गाउँपालिका–२ स्थित सीमा क्षेत्रबाट प्रतिनिधिसभा सदस्य माधव सापकोटासहितका ३० जना स्थानीयले चिनियाँ क्षेत्रमा प्रवेश गरेर आजबाट तातोपानी नाका खुला भएको सन्देश दिइएको हो ।
नाका खुला भएसँगै लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका स्थानीय बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई चेकजाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् ।
सांसद सापकोटासहितको टोलिलाई चिनियाँहरुले भव्य स्वागत गरेका छन् ।
गएको मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाउने गरी नाखा खुला गर्ने निर्णय गरेको थियो ।
विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएको थियो । भूकम्पपछि ०७६ साल फागुनमा विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएपछि नाका पुनः बन्द भएको थियो ।
तीन महिनाअघिदेखि तातोपानी नाकाबाट मालवाहक सवारीको आवतजावत खुला गरिएको थियो ।
नाका खुला भएसँगै सिन्धुपाल्चोकका स्थानीयले अब आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिएका छन् ।

























