पोखरा । समाजवादी मोर्चा नेपालको सन्देश सभा आज गण्डकी प्रदेशको पोखरामा हुने भएको छ । सभालाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
मोर्चामा आबद्ध पार्टीबाट तीन–तीन जना सदस्य रहने गरी गण्डकी प्रदेश संयोजन समिति पनि गठन गरिएको छ ।
समितिमा माओवादी केन्द्रबाट गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, ज्ञानमान गैरे र जगन्नाथ खनाल सदस्य छन् भने नेकपा एकीकृत समाजवादीबाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ, जनता समाजवादी पार्टीबाट गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपाली मोर्चाका सदस्य छन् । यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट राजन सी, दीपा सी र काजी सी रहेको बताइएको छ ।
समितिको अध्यक्षता केन्द्रको जस्तै आलोपालो गर्ने सहमति छ । हाललाई माओवादी केन्द्रका प्रदेश अध्यक्ष गायत्री गुरुङले मोर्चाको नेतृत्व गरेकी छिन् ।
मोर्चालाई प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म विस्तार गर्ने नेताहरुले बताएका छन् ।