काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत् भन्सार अधिकृतदेखि कार्यालय सहयोगीसम्मका १३७ कर्मचारीहरूले सामूहिक सरुवा मागेका छन् ।
पछिल्लो समयमा ६० किलो सुन बरामदको घटनापश्चात विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा आफूहरूलाई विनाकारण दुःख दिने तथा मानसिक रूपमा क्षतविक्षत् बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाई महसुस भएको गुनासो गर्दै उनीहरुले भन्सार विभागसँग सरुवा माग गरेका छन् ।
आफ्नो कर्तव्य निर्वाह गर्ने शिलशिलामा रात दिन नभनी २४ सै घण्टा सार्वजनिक बिदाका दिनहरुमा समेत कुनै अतिरिक्त सेवा सुविधा नलिई प्रचलित कानुन बमोजिम नियमित रुपमा कामकाजमा खटिएको बताउँदै उनीहरुले कामकाजको शिलशिलामा भन्सार राजस्व उठाउँदा यात्रुबाट हुने दुर्व्यवहार र अपशब्दको कुनै सीमा नभएको गुनासो विभागका महानिर्देशसमक्ष मागिएको सामूहिक सरुवाको निवेदनमा गरिएको छ ।
दोषी जो कोहीलाई कानून बमोजिम कारबाही गर्ने कुरामा कुनै द्विमत नरहे पनि कर्तव्य पालनको शिलशिलामा खटिएका कर्मचारीहरुमाथि अनावश्यक रुपमा धरपकड गर्ने, प्रमाणबिना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदै पक्राउ गरी दुःख दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भई तोकिएको कार्यजिम्मेवारी पुरा गर्न आफूहरु व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पन्न भएको कर्मचारीले गुनासो गरेका छन् ।
आफूहरूको सरुवा मागको सुनुवाइ नभए कार्यालयको नियमित कार्य सम्पादन प्रभावित हुन सक्ने चेतावनी समेत उनीहरुले दिएका छन् ।

























