काठमाडौं । जनकपुर विमानस्थल नजिकै पुगिसकेका नेकपा एमाले नेताहरु काठमाडौं फिर्ता भएका छन् । सिरहामा हुने सचिवालय बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता अमृत बोहरालगायत बुद्ध एयरको विमानमा जनकपुर जाँदै थिए ।
जनकपुर विमानस्थलमाथिको आकाशमा पुगेपछि उनीहरु चढेको वुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएका कारण जहाज काठमाडौं फिर्ता भएको बताइएको छ ।
बुधबार सिरहामा बस्ने एमालेको सचिवालय समितिको बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली विराटनगरबाट जाने र अन्य नेताहरु काठमाडौंबाट जानेछन् ।

वुद्ध एयरको एउटा जहाज फिर्ता भए पनि एमाले नेताहरु अर्को जहाजमा त्यसतर्फ जाने बताइएको छ ।
जहाजको ‘अटोपाइलट सिस्टम’मा प्राविधिक समस्या देखिएपछि पाइलटले जहाजलाई काठमाडौं नै फर्काउने निर्णय लिएका बुद्ध एयरका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।
एमालेको सचिवालय बैठक बस्न लागेको सिरहाको धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासमा नेकपा (माले) ले २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भूमिगत समयमा चौथो महाधिवेशन गरेको थियो । सो महाधिवेशनले मदन भण्डारीलाई पार्टीको महासचिव चुनेको थियो । त्यसको करिब ३४ वर्षपछि सोही स्थानमा सचिवालय बैठक बस्न लागेको छ।
सचिव योगेश भट्टराईले यस ठाउँको भौतिक पूर्वाधारको विकास, नेपालको कम्युनिष्ट आन्दोलनको अध्ययन केन्द्र, कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको उपलक्षमा आज नै एमाले अध्यक्ष केपी शर्मा ओलीबाट कम्युनिष्ट आन्दोलनको स्तम्भ सोही ठाउँमा शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको बताएका छन् ।
सो स्थानलाई वैचारिक तथा सैद्धान्तिक पर्यटकस्थलका रूपमा विकास गरिने एमालेले जनाएको छ।


























