काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) आजदेखि कार्यान्वयनमा आउँदै छ । आजबाट कार्यान्वयनमा आउन लागेको एमसीसी परियोजना पाँच वर्षभित्रमा सम्पन्न हुने सम्झौतामा उल्लेख छ ।
अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलरको अनुदान सहयोग दिएको नेपालमा ऊर्जा र सडक पूर्वाधार विकाससम्बन्धी यो परियोजनामा नेपालले १३ करोड डलर थप गरेको छ ।
यो परियोजनामा काठमाडौंको लप्सीफेदीबाट नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै बुटवलसम्म ४ सय केभी क्षमताको विद्युत् प्रसारणलाइन र सवस्टेशनहरु निर्माण हुनेछन् ।
यसमा कपिलवस्तुको धानखोलाबाट दाङ र बाँकेको शिवखोलासम्मको सडक स्तरोन्नतीको काम पनि समेटिएको छ ।
यो परियोजना लिन कि नलिने भन्ने विषयमा विवाद भएपछि प्रतिनिधिसभाले २०७८ सालको फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसीलाई अनुमोदन गरेको थियो । नेपालको व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकारेको छ ।
यो परियोजना विवादरहित भने अझै हुन सकेको छैन । आज एमसीसीको विरोधमा पाँचवटा वामपन्थी दलले देशव्यापी प्रदर्शन गर्ने भएका छन ।
नेपाल कम्युनिष्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले संयुक्त रुपमा तथा राष्ट्रिय जनमोर्चाले एमसीसी खारेजीको माग गर्दै आज छुट्टै विरोध प्रदर्शन गर्न लागेका हुन् ।
दिउँसो ३ बजे माइतीघर मण्डलामा चार दलले संयुक्त विरोध प्रदर्शन गर्दैछन् । त्यस्तै राष्ट्रिय जनमोर्चाले दिउँसो ३ बजे नै काठमाडौँको शान्तिवाटिकामा विरोध सभा गर्ने भएको छ ।
अर्थ मन्त्रालयको सुवर्ण हलमा हुने एमसीसी कार्यान्वयन घोषणा कार्यक्रममा सहभागी हुन एमसीसी उपाध्यक्ष क्यामरन एस अलफोर्ड मंगलबार तीन दिने भ्रमणका लागि नेपाल आएका छन् ।