काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा सत्ता गठवन्धनलाई राप्रपाले सघाउने सहमति नभएको दावी गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले संसदीय समितिको सभापति लिए वापत कोशीमा सत्ता गठबन्धनलाई सघाएको भन्ने कुरा सत्य नभएको बताएका छन् ।
मुख्यमन्त्री दिँदा समेत नलिएको दावी गर्दै लिङदेनले कोशीमा सभामुख र मन्त्री लिएर सत्ता गठबन्धनलाई सघाउने सहमति भएको हल्ला सत्य नभएको प्रष्ट पारेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन वटा समितिको नेतृत्व पाएको बताउँदै लिङदेनले राप्रपाले एउटा समितिको नेतृत्व पाउँदा स्वार्थसँग दाँज्न नमिल्ने बताएका छन् ।
सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच भएको भागवण्डामा आफूले पाएको पूर्वाधार विकास समितिको सभापति माओवादी केन्द्रले अन्तिम समयमा राप्रपालाई दिएको थियो । त्यसक्रममा कोशीमा सभामुख र एउटा मन्त्री लिएर कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने सहमति भएको सत्तारुढ नेताहरुको दाबी थियो ।
अध्यक्ष लिङ्देनले अहिलेको अवस्थामा कोशीमा सभामुख फालाफाल अवस्थामा रहेको बताउँदै त्यो पद पाउन कसैसँग सौदा गर्नु नपर्ने बताएका छन् ।
त्यस्तै उनले कोशी प्रदेशमा प्रक्रियागत रुपमै राप्रपाले चाहे पनि अहिलेको सरकारलाई सहयोग गर्ने वा विश्वासको मत दिने चरण समाप्त भइसकेका बताएका छन् ।