काठमाडौँ । आज कोशी र बागमती प्रदेशका पहाडी भेगमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार पछिल्लो एक घण्टामा कोशीको पहाडी भेगका एक÷दुई स्थान र बागमती प्रदेशको पहाडी क्षेत्रकै थोरै स्थानमा हल्का वर्षा भइरहेको हो ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
आज दिउँसो काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसम महाशाखाले आगामी २४ घण्टा (बुधबार बिहान ६ बजेसम्म) का लागि जारी गरेको चेतावनी तथा परामर्शमा भनिएको छ– ‘देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यी क्षेत्रबाट बहने नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’



















