काठमाडौं । आज दिउँसो ३ बजे सबै संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधिसभा निर्वाचन भएको ९ महिनापछि ९ वटा समितिको सभापति सर्वसम्मत चुनिएको छ भने एउटामा निर्वाचन हुने स्थिति देखिएको छ । सर्वसम्मत भएकाहरुको घोषणा भने भएको छैन ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने निर्वाचन हुने सम्भावना देखिएको छ ।
सत्ता गठवन्धन र प्रमुख प्रतिपक्षी दलबीच भएको सहमति अनुसार सो समितिको सभापति जनमत पार्टीका अब्दुल खानले पाएका छन् । तर सो समितिको नेतृत्व दावी गदै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परे पछि समितिमा निर्वाचन हुने देखिएको हो ।
सत्तारुढ नेपाली काँग्रेसका तर्फबाट अर्थ समितिमा सन्तोष चालिसे, कृषि समितिमा डा. आरजु राणा देउवा र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरी खतिवडाको उम्मेदवारी परेको छ ।
त्यस्तै, प्रमुख प्रतिपक्ष एमालेबाट सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक समितिमा किरणकुमार साहको उम्मेदवारी दर्ता भएको छ ।
अर्को सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा विमला सुवेदीले उम्मेदवारी दर्ता गराएकी छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जनता समाजवादी पार्टी, नेपालका राजकिशोर यादवको उम्मेदवारी परेको छ ।
नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीले शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समिति सभापतिमा उम्मेदवारी दिएका छन् ।
प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिमा उम्मेदवारी दर्ता गराएका छन् ।