काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सहसचिव सुशील वैद्यमाथि पनि किर्ते मुद्दा चलाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा दर्ता गरेको सूचीमा उनीहरुको पनि नाम छ ।
सचिव राउतले २०६६ सालमा जग्गाको सट्टाभर्नामा टिप्पणी उठाएका थिए । त्यही टिप्पणीमार्फत भूमाफियालाई जग्गा दिइएको थियो ।
त्यस्तै सहसचिव वैद्यमाथि मालपोत कार्यालय डिल्लीबजारमा हुँदा भूमाफियाको पक्षमा फर्जी कागजात बनाएर जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा किर्ते मुद्दा चलाइएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरुलाई पनि मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको थियो । त्यसपछि दाङका प्रमुख जिल्ला अधिकारी वैद्यलाई गृह मन्त्रालयमा तानिएको थियो ।