धरान । धरानमा आज निषेधाज्ञा रहेको छ। जिल्ला सुरक्षा समितिको शुक्रबार बैठकपश्चात गए राति १२ बजेबाट निषेधाज्ञा जारी भएको हो।
धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै हिन्दु समर्थकहरूले शनिबार प्रदर्शनको आह्वान गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
गए राति १२ बजेदेखि आज राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको सुनसरीको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । धरानको मंगलबारेमा १५ दिन अगाडि गाई काटेर मासु खाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
त्यसपछि हिन्दु समर्थकहरूले विरोध गर्दै आएका थिए । उनीहरूले गाईगोरु काट्न बन्द गर्नुपर्ने माग गर्दै प्रदर्शनको आह्वान गरेका थिए ।
हिन्दु समर्थकहरूले प्रदर्शन गर्ने भएपछि धरानका पहिचानवादीहरूले प्रतिकार गर्ने कार्यक्रम राखेपछि सामाजिक सद्भाव भड्कने डरले जिल्ला प्रशासन कार्यालयले धरानमा हिँडडुल गर्न र सामूहिक रुपमा भेला हुन प्रतिबन्ध लगाएको हो ।
धरानमा सामाजिक सद्भाव भडकन नदिन शनिबार गर्ने भनिएको प्रदर्शन रोक्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिइन् । उनले जातीय र धार्मिक आन्दोलन गरी सामाजिक सद्भाव भड्काउने जो कोहीलाई पनि पक्राउ गरी कारबाही गर्ने बताइन् ।

सामाजिक सद्भाव कायम गर्न अपिल
सामाजिक सद्भाव कायम गर्न र द्वन्द्वको वातावरण अन्त्य गर्न धरानका सबै राजनीतिक दलले अपिल गरेका छन् । धरानका १३ राजनीतिक दलले जारी गरेको संयुक्त अपिलमा केही दिनदेखि धरानमा देखिएको असहज परिस्थितिले सामाजिक सद्भाव, सहिष्णु वातावरण बिथोलिने आशङ्का उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

























