सुनसरी । सुनसरीको धरानमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार जारी गरेको सूचनामा आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ ।
निषेधाज्ञा शनिबार राति १२ बजेसम्मका लागि जारी गरिएको हो। प्रशासनले धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका-१ मा पर्ने झण्डा चौकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम-दक्षिण रामधुनी नगरपालिका-६ बाट बराहक्षेत्र नगरपालिका-३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।
त्यसैगरी इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्रमा पनि प्रशासनले निषेधाज्ञा जारी गरेको छ। त्यसैगरी धरान उपमहानगरपालिका-५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी-६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।
सूचनामा भने डेंगु संक्रमण बढिरहेको र जनस्वास्थ्य आपतकालीन् अवस्था क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरिएको स्थितिमा सभा सम्मेलन गर्न निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।
सो अवधिमा अत्यावश्यक कामबाहेक सामुहिकरुपमा गरिने सामाजिक,धार्मिक,राजनैतिक सभा,र्याली/भेला जम्मा/ प्रदर्शनलगायतका कुनै पनि कार्यक्रम नगर्न/नगराउन आदेशमा भनिएको छ।
‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक/साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम मिति २०८०।०५।०८ गते राति १२ बजेदेखि मिति २०८०।०५।०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, न्याती/ भेलाजम्मा/ प्रदर्शन लगायतका कुनै पनि कार्यक्रमहरू नगर्न/नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण वडालगायत तपसिलका क्षेत्रमा समेत लागू हुने गरी निषेधादेश जारी गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, उक्त सूचनामा उल्लेख छ।
तर, धरानको मंगलबारेमा १५ दिन अगाडि गाई काटेर मासु खाएको भिडीयो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यसपछि हिन्दु समर्थकहरूले विरोध गर्दै आएका थिए। उनीहरुले गाईगोरु काट्न बन्द गर्नुपर्ने माग गर्दै भोलि प्रदर्शनको आह्वान गरेका थिए।
सामाजिक, धार्मिक सद्भाव भड्किनसक्ने देखेर सुरक्षा समितिले सुरक्षा सतर्कता अपनाएको हुनसक्ने अनुमान गरिएको छ ।
हेर्नुहोस् सूचना


























