चितवन । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँको चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन् ।
दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्नको लागि पर्यटक यहाँ आउन लालायित हुन्छन् ।
निकुञ्जभित्रका वन्यजन्तु हेर्नका लागि वि.सं. २०४१ बाट हात्ती सफारी गर्न थालिएको हो । यहाँ हात्ती चढ्नकै लागि पनि पर्यटक आउने गर्दथे । तर पछिल्लो समय यहाँको पहिचानका रूपमा रहेको हात्ती सफारी सङ्कटमा पर्दै गएको छ ।
पछिल्लो समय हात्ती सफारी गर्ने पर्यटकको सङ्ख्या क्रमशः घट्दै गएको रेवान सौराहाका पूर्वअध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।
कोरोना महामारीपछि सौराहा आउने २५ प्रतिशत पर्यटकले मात्रै हात्ती सफारी गर्ने गरेको उनको भनाई छ ।
हात्ती सफारी गर्ने पर्यटक नहुँदा सौराहाको पर्यटनमा समेत असर गरेको उनले बताए। ‘विगतमा अधिकांश पर्यटक हात्तीको गतिविधि अवलोकन गर्न आउँथे । कोही बच्चासँग खेल्थे, कोही सफारीमा जान्थे,’ उनले भने, ‘तर हात्ती सफारी घट्दै गएपछि पर्यटनमा ठूलो घाटा छ ।’
हात्ती सफारी घटेपछि यहाँका व्यवसायीले हात्ती थपेका छैनन् । स्वदेशी पर्यटक पनि घट्दै छन् । अहिले हात्ती सफारी गर्ने पर्यटक घटेसँगै हात्तीको सङ्ख्या पनि व्यवसायीले घटाएका हुन्। आफूले दुईवटा हात्ती घटाएर एउटा मात्र पाल्न थालेको गिरीले बताए ।
पहिला सरकारी हात्तीमा चढेर निकुञ्जमा वन्यजन्तु अवलोकन गर्न पाइन्थ्यो । तर अहिले सरकारी हात्तीले पर्यटक बोक्न छाडेका छन् ।
चितवनको सफारी पर्यटनलाई जोगाउन सौराहाका व्यवसायीले करिब २० वर्षअघिदेखि हात्ती पाल्न सुरु गरेका हुन् । कोरोना महामारी सुरु हुनुभन्दाअघि हात्तीलाई भ्याइनभ्याइ हुन्थ्यो ।
कोरोना सुरु भएपछि हात्ती करिब चार वर्ष बेकामे बने । पाल्न नसक्ने भएपछि हात्ती बिक्री गर्नुपरेको व्यवसायी नगेन्द्र चापागाईँ बताउछन् ।
पाल्न नसकेपछि आफूले पनि दुईवटा हात्ती बेचेको उनले बताए। एउटा हात्ती पाल्न मासिक डेढ लाखदेखि दुई लाखसम्म खर्च हुन्छ । एउटा हात्तीका लागि दुई जना कामदार राख्नुपर्छ । तर आम्दानी भने एक लाख पनि नहुने चापागाईंको भनाई छ ।
तीन वर्षअघिसम्म सौराहामा हात्ती पनि थुप्रै देखिन्थे । तर पछिल्लो समय सौराहामा विगतजस्तो हात्तीको चाप छैन ।
विसं २०७७ सम्म निजी हात्ती सयभन्दा बढी रहेकामा अहिले ५० वटामा सीमित छन् ।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले प्रत्येक वर्ष सौराहामा हात्तीको सङ्ख्या कम भइरहेको बताए ।
चितवनमा सरकारी र निजी हात्ती गरी एक सय १० वटा हात्ती छन् । त्यसमध्ये जिल्लामा सरकारी हात्ती ६० वटा छन् । युनाइटेड हात्ती सञ्चालन सहकारीमा ३०, सपना भिलेजमा आठ, ओम रिजालका आठ र विदेशी नागरिकका चारवटा हात्ती रहेका छन् ।
‘राज्यको अर्थतन्त्रसँग जोडिएको पर्यटन उद्योगको बलियो खम्बाका रूपमा रहेका हात्ती संरक्षणका लागि राज्यले समेत ध्यान दिनुपर्छ,’ खतिवडाले भने ।
चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा.विजयकुमार श्रेष्ठले नेपालमा आहार, खानपान र स्वास्थ्योपचारका हिसाबले हात्ती पाल्न मुस्किल रहेको बताए । निजीस्तरमा हात्ती पालेर पर्यटनको विकास गर्न सक्नु सामान्य कुरा नभएको उनको भनाई छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्ती संरक्षणमा चुनौती रहेको बताए । उनले सरकारले निजीस्तरमा पालेका हात्तीको दर्ता प्रक्रिया सुरु गरेको जानकारी दिए ।
निजीस्तरमा पालिएका हात्तीको संख्या एक सय ५० को हाराहारीमा रहेको उनले बताए । निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र पर्यटन व्यवसायीको त्रिपक्षीय सहकार्यबाट मात्र हात्तीको संरक्षण सम्भव रहेको व्यवसायी बताउँछन् ।
विगतमा हात्ती सफारीबाट यहाँका सामुदायिक वनले आम्दानी गरेका थिए । तर पछिल्लो समय सामुदायिक वनको पनि आम्दानी घटेको छ ।
हात्ती लोपोन्मुख जनावर हो । सरकारले यसलाई किनबेच गर्न रोक लगाएको छ। यद्यपि व्यवसायीले ८० लाखदेखि एक करोडसम्ममा यसको किनबेच गर्ने गर्छन् ।
यहाँका व्यवसायीले पाल्न नसकेपछि हात्तीलाई भारतमा लगेर बेच्ने गरेका छन् । नेपालमा जङ्गली र घरपालुवा गरेर सात सयको हाराहारीमा हात्ती रहेको अनुमान छ । रासस