विराटनगर । कोशी प्रदेशको चालु तथा तेस्रो अधिवेशन आजदेखि अन्त्य भएको छ । मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।
बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले जारी अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको थियो । सरकारको सिफारिसमा प्रदेश प्रमुख खापुङ्ले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।
थापा नेतृत्वको प्रदेश सरकारले तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट ल्याएको बजेटलाई निस्क्रिय बनाएर पुनः अध्यादेशबाट बजेट ल्याउनका लागि अधिवेशन अन्त्य गराएको छ ।
गत जेठ ३२ गते कार्कीले ल्याएको बजेट अध्यादेश असार १४ गते संसदमा टेबल भएको थियो । संसद नभएको अवस्थामा ल्याइने अध्यादेशलाई संसद सुरु भएको ६० दिनभित्र पास गराउनु पर्छ, नभए अध्यादेश निष्क्रिय हुने कानुनी व्यवस्था छ । जस अनुसार सो अध्यादेश भदौ १० पछि निष्क्रिय हुँदैछ ।
दलहरूबीचको अन्तर विरोधका कारण भदौ १ गते संसदले अध्यादेश स्वीकारेको थियो । अध्यादेशको बजेट पास गर्न सरकारले प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको थियो । प्रतिस्थापन विधेयक पास हुने अवस्था नआएपछि सरकारले अधिवेशन नै अन्त्य गरेको हो ।
मुख्यमन्त्रीले विश्वासको मत असंवैधानिक रुपमा लिएको भन्दै प्रतिपक्षी दल एमाले र राप्रपा बुधबार बसेको प्रदेशसभा बैठक बहिष्कार गरेका थिए । दलहरुबीच सहमति भए एकैदिनमा बजेट पास हुने बताए थापाले तत्काल सहमति सम्भावना नरहेका कारण सरकारले पुन अध्यादेशको बाटो रोजेको एक मन्त्रीले बताएका छन् ।
संसदमा भएको अवरोधका कारण नयाँ अध्यादेश ल्याउनका लागि अधिवेशन अन्त्य गरेको वताउँदै ती मन्त्रीले भदौ १० वा ११ मा बजेट अध्यादेश आउने बताएका छन् ।
मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष इस्राइल मन्सुरीको भोटले लिएको विश्वासको मतको विरुद्धमा प्रमुख प्रतिपक्षी दल एमालेका नेता हिक्मतकुमार कार्कीले बुधबार सर्वोच्च अदालतमा थापाले विश्वासको मत नपाएको र आफूलाई मुख्यमन्त्री बनाउनका लागि परमादेश माग गर्दै रिट दायर गरेका छन् । उनले दिएको रिटको पेशी आजका लागि तोकिएको छ ।
























