काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पुनः सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ ।
गत सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा संविधान मिचिएको भन्दै कोशी प्रदेश सरकारविरुद्ध एमाले सर्वोच्च अदालतमा मुद्दा दायर गर्न लागेको हो ।
सभामुखको हैसियतमा रहेका कांग्रेसका सांसद इस्राइल मन्सुरीले मुख्यमन्त्री थापालाई विश्वासको मत दिएपछि एमालेले संसदमै विरोध जनाएको थियो ।
संसद्को अध्यक्षता गरिरहेका व्यक्तिले मतदान गर्नु असंवैधानिक र प्रदेश सञ्चालन नियमावलीविपरीत भएको एमालेको दाबी छ ।
थापा नेतृत्वका गठबन्धन सरकार असंवैधानिक भएकाले त्यसलाई खारेज गरी ठूलो दलको हैसियतमा एमालेले सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग एमालेको छ ।
सोही माग दाबीसहित आज सर्वोच्चमा रिट दायर गर्न लागिएको कोशी प्रदेश एमाले दलका उपनेता रामबहादुर राना मगरले जानकारी दिएका छन् ।
यसअघि असार २२ गते पनि एमालेले मुख्यमन्त्री थापाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेको थियो । तत्कालिन सभामुखको समत मत जोडेर वहुमत पुर्याउनु संविधान विपरित भएको भन्दै एमालेले दिएको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्चले त्यतिबेला मुख्यमन्त्री उद्धव थापाको नियुक्तिलाई असंवैधानिक भन्दै बदर गरेको थियो ।
त्यसपछि कोशीमा पुनः सरकार गठनको प्रक्रिया अघि बढेको थियो। गएको साउन १६ गते सभामुख बाबुराम गौतमले राजीनामा दिएर समर्थन गरेपछि थापा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए ।
कोशी प्रदेशमा नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद सरकारको पक्षमा छन् ।
थापाले लिएको विश्वासको मत प्रक्रियाप्रति नेपाली कांग्रेसकै नेताहरुले समेत असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा सत्ता पक्षले गल्ती दोहोर्याएको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारसँग कुरा गर्दै डा.कोइरालाले अदालतले सच्याएको निर्णयलाई सत्ता पक्षले अटेरी गरेको बताएका छन् ।
सभाध्यक्षलाई संसदमा मतदान गर्न लगाउनु गलत भएको भन्दै डा. कोइरालाले भनेका छन् , ‘अदालतले जुन निर्णय गरेको थियो, अस्ति त्यो निर्णय सही निर्णय थियो, फेरि हामीले दोहोर्यायौं सत्ताका लागि, फेरि अदालतले के निर्णय गर्छ हेरौं !’
























