चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोको कारण सडक अवरुद्ध भएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो ।
पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहे पनि अझै पाँच÷छ घण्टालाग्ने सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिएका छन् । “हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पूरै पन्छाउन अझै पाँचदेखि छ घण्टा लाग्छ सक्छ”, उनले भने ।
रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि बिहानसम्म २५ देखि ३० प्रतिशतमात्र पन्छाउन सफल भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिएका छन् । चार मेसिन पहिरो पन्छाउन प्रयोग भए पनि साँघुरो भएका कारण आलोपालो चलेको बताइएको छ ।
गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु रातभर बाटोमै रोकिएका छन् । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी नायब निरीक्षक चुडामणि पोखरेल अनुरोध गरेका छन् । उनले काठमाडौँबाट गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैँडाकोटमा रोकिएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड पहिराका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।




















