विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूचीसहित आजका लागि प्रदेशसभा वैठक बोलाइएको छ । सभामुख बाबुराम गौतमको हस्ताक्षर समेत जोडेर वहुमत पुर्याएर मुख्यमन्त्री भएका थापाको नियुक्ति सर्वोच्च अदालतले वदर गरिदिएपछि सभामुख गौतमलाइ राजीनामा नै दिन लगाएर पुनः वहुमत पुर्याएर मुख्यमन्त्री भएका थापालाई विश्वासको मत लिन हम्मे परेको छ ।
सभामुखले राजीनामा दिएको अवस्थामा उपसभामुखले वैठक सञ्चालन गर्नुपर्ने तर उपसभामुख विपक्षी दल एमालेको भएकाले वैठक सञ्चालन नगरिदिएमा ज्येष्ठ सदस्यले वैठक सञ्चालन गर्नुपर्ने थियो । ज्येष्ठ सदस्य नेपाली कांग्रेसकै भएको र अध्यक्षता गर्ने व्यक्तिले विश्वासको मत दिन नपाउने भएपछि मुख्यमन्त्री थापाले उनलाई मन्त्री बनाएर आफ्ना लागि मत सुरक्षित गरेका थिए ।
तर विपक्षी एमाले र राप्रपाका ज्येष्ठ सदस्यहरु वैठकमा उपस्थिन हुन नसक्ने भन्दै विदामा बसेका छन् भने उपसभामुख सिर्जना दनुवार पनि उपचारका लागि भन्दै आज विहानै काठमाडौं हिडेकी छिन् । यसले गर्दा मुख्यमन्त्री थापा अप्ठ्यारोमा परेका छन् ।
दिउँसो १ बजे प्रदेशसभाको बैठकअघि आज बिहान ८ बजे कार्यव्यवस्था समितिको बैठक डाकिएको थियो । तर, यती एयरको बिहान ७ बजेको उडानमार्फत दनुवार काठमाडौंतिर उडिन् ।

सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका थापाले विश्वासको मतका लागि अनेकन जालझेल पूर्ण रणनीति गरेका थिए । तर विपक्षीहरूको रणनीतिले विश्वासको मत प्राप्त गर्न उनलाई समस्या देखिएको छ । प्रदेशसभाको अध्यक्षता कसले गर्ने भन्नेमा अहिलेसम्म पनि अन्यौल रहेको छ । सभामुख बाबुराम गौतमले राजीनामा दिएर सरकार गठनमा सहयोग गरेका कारण उपसभामुखले सभा सञ्चालन गर्नुपर्ने हो तर उपसभामुख दनुवार बैठकमा अनुपस्थित हुने भएपछि थप अन्यौल भएको हो ।
उपसभामुख अनुपस्थित भए जेष्ठ सदस्यले सभा सञ्चालन गर्ने व्यवस्था छ । तर एमाले र राप्रपाका आठ जना ज्येष्ठ सदस्य बिदामा बसेपछि अब सत्ता पक्षकै सांसदले सभाको अध्यक्षता गर्नुपर्ने अवस्था आएको छ ।
विश्वासको मत पाउन ४७ सांसदले पक्षमा मतदान गर्नुपर्छ । तर प्रदेशसभाको अध्यक्षता सत्ता पक्षले गर्नुपर्ने अवस्थामा ४६ जनाको मात्रै पक्षमा मतदान हुने छ । जसले गर्दा सरकारले विश्वासको मत पाउँदैन । सरकारले विश्वासको मत नपाए ठूलो दलको हैसियतमा एमालेले सरकार बनाउने मौका पाउने छ ।
प्रदेशसभा नियमावलीअनुसार सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्ष मण्डलका सदस्यहरूले क्रमशः अध्यक्षता गर्नुपर्छ । नियमावलीको नियम ११ अनुसारको रोस्टरमा नेपाली कांग्रेसका तर्फबाट इस्राइल मन्सुरी, राप्रपाका अम्बरबहादुर विष्ट, एमालेका मालती सुब्बा र माओवादी केन्द्रका गीता तिम्सिना रहेका छन् ।
अध्यक्ष मण्डलमा रहेका राप्रपाका प्रदेशसभा सदस्य विष्ट र एमालेका मालतीकुमारी सुब्बा हिजै घरायसी काम परेको भन्दै बिदामा बसेका छन् । त्यसैले बैठकको अध्यक्षता गर्ने जिम्मेवारी उपसभामुखले कांग्रेसबाट निर्वाचित सांसद इस्राइल मन्सुरीलाई दिएकी छिन् । उनी नेपाली कांग्रेसको तर्फबाट सुनसरी ४(२) बाट निर्वाचित भएका हुन् । उपसभामुख बिदामा बसेको बेला अब प्रदेशसभा मन्सुरीले सञ्चालन गर्नु पर्ने हुन्छ ।

एमालेका रोहितबहादुर कार्की (७१), मालतीकुमारी लिम्बू (६७), रामप्रसाद महतो (६७), खड्गबहादुर बस्नेत (६७), तारादेवी ढकाल (६६), किशोरचन्द्र दुलाल (६५) र ज्ञानेन्द्र सुवेदी (६४) ले विदा बस्ने निवेदन दिएका छन् ।
राप्रपा प्रदेशसभा सदस्य गोपालबहादुर विश्वकर्मा (६५) ले पनि उपस्थित हुन नसक्ने भनी निवेदन दिएका हुन् । प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार आठै जनाले निवेदनमा ‘घरायसी जरुरी काम भएका कारण उपस्थित हुन नसक्ने’ उल्लेख गरेका छन् ।
सत्ता गठबन्धन बाहेकका सांसदले बैठकको अध्यक्षता गर्ने अवस्था नआए आजको बैठक स्थगित हुने सम्भावना छ भने विपक्षीले अध्यक्षता गर्नुपर्ने अवस्था आउँदासम्म उनीहरु अनुपस्थित हुने देखिन्छ । जसले गर्दा कोशी सरकार अप्ठ्यारोमा पर्ने देखिएको छ ।
९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा रहेको सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ । उनको विपक्षमा एमालेका ३९ (उपसभामुख बाहेक) र राप्रपाको ६ जना सांसद छन् ।

























