
काठमाडौं । साउन २३ गते राति सिरहाको मिर्चैयास्थित कटारी चोकमा विराटनगरका व्यापारी सिद्धान्त भट्टराई मृत भेटिएका थिए । पाथीभरा कापी उद्योगका सञ्चालक सुरेशकुमार भट्टराई आफै सिरहा जाने तयारीमा थिए । तर अचानक स्वास्थ्यमा खराबी आएपछि व्यापारीको माग अनुसारको कापी लिएर को १ च ९१७२ नम्बरको जिपमा २५ वर्षीय छोरा सिद्धान्त र ड्राइभर सागर राय विराटनगरबाट सिरहा गएका थिए ।
वेलुका फर्किने गरी पहिलो पटक मार्केटिङका लागि सिरहा पुगेका सिद्धान्त ठूलो पानी परेको र गाडीमा खरावी आएका कारण मिर्चैयामै बस्ने भए । सिद्धान्तका लागि बाबु सुरेशले नै त्यहाँका व्यापारी मार्फत सहदेव होटलमा बस्ने व्यवस्था मिलाइदिएका थिए । तर सिद्धान्तको शव नजिकै रहेको अर्को शुम्भु होटलमा भेटिएको थियो ।
भोलिपल्ट अर्थात साउन २४ गते विहान ४ बजे सिद्धान्तको मृत्यु भएको खबर सुन्दा उनले पत्याएनन् । तर प्रहरीले नै सिद्धान्तको मृत्यु भएको खबर गरेपछि सुरेशलगायत आफन्तहरु मिर्चैया पुगेका थिए ।
घटनास्थल र शवको प्रकृति हेरेपछि सुरेश र आफन्त तथा स्थानीयले सिद्धान्तको मृत्यु नभई हत्या भएको आशंका गरेका छन् । सिद्धान्तको शव भेटिएको शम्भु होटलमा लागूऔषधको कारोवार, वेश्यावृत्ति हुने गरेको र यसअघि पनि मृत्युका घटना भएको स्थानीयले बताएपछि भट्टराई परिवार सिद्धान्तको हत्या नै भएको निष्कर्षमा पुगेको छ । प्रहरीले छापा मार्दा लागू औषध फेला परेको बताइएको छ ।

सिद्धान्तको शवको प्रकृति हेर्दा पनि हत्या गरेर फालेको जस्तो देखिएको आफन्तले बताएका छन् । होटल सञ्चालक शम्भु साहले सिद्धान्तको मृत्यु छतबाट लडेर भएको हुन सक्ने बताएका छन् । तर उनको टाउकोमा चोट नहुनु, अर्थनग्न अवस्थामा हुनु, पेटमा साइकलको चेनले हानेको जस्तो दाग हुनु, घाटीमा थिचेको जस्तो दाग हुुनु, शरिरका विभिन्न भागमा निलडाम हुनु र लिभर फुटेको पाइउनुले सिद्धान्तको हत्या भएको जोसुकैले सहजै अनुमान लगाउन सक्छ । तर प्रहरीले होटल सञ्चालक बाबु छोरालाई पक्राउ गरेर अनुसन्धन गरे जस्तो मात्र गरेको परिवारको आरोप छ । प्रहरीले होटल सञ्चालक शम्भु साहलाई तत्काल छाडेको छ भने छोरा दिपेन्द्र साहलाई हिरासतमै राखेको छ । घटनाको अनुसन्धान भइरहेकै बेलामा होटल सञ्चालक शम्भुलाई छोड्नु, राति १ बजे घटनास्थल पुगेको प्रहरीले विहान ४ वजे मात्र परिवारलाई जानकारी दिनु, ड्राइभरले परिवारलाई खबर गर्न खोज्दा रोक्नु, होटल सिज नगर्नु, २४ गते गरिएको पोष्टमार्टम (शवको मेडिकल जाँच) रिपोर्ट अझै नआउनु, रिपोर्ट आएपछि मात्रै विस्तृत अनुसन्धान गर्ने भन्दै प्रहरी वस्नु र रिपोर्टका लागि तागेता नगर्नुले सिद्धान्तको हत्यालाई आफै मरेको बनाउन चलखेल भइरहेको परिवारको आशंका छ ।
पोष्टमार्टम गर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डा. डीएन यादव विदा लिएर वस्नु, प्रहरी रिपोर्ट कुरेर बस्नु र पक्राउ परेका होटल सञ्चालक शुम्भलाई छोडिनुले आर्थिक चलखेल भइरहेको हुन सक्ने आशंका गर्न थालिएको छ ।

लामो सुरुङमार्ग जस्तो शम्भ् होटलको पछाडी शौचालय नजिकै भेटिएको शव र घटनास्थलको प्रकृति हेर्दा हत्या गरेर फालेको जस्तो देखिएको बताउँदै बाबु सुरेशकुमारले होटल सञ्चालक बाबु छोरासहित मिलेर हत्या गरेका हुन सक्ने अनुमान गरिएको बताउँदै अनुसन्धानलाई छिटो टुंगोमा पुर्याएर दोषीलाई कारवाही गर्न माग गरेका छन् ।
शम्भु होटलका सञ्चालक साहको भनाइ पनि फरकफरक पाइएको छ । साहले प्रहरीसँग सहदेव होटलबाट आएर एक वोटल वियर खाएर शौचालय गएको मान्छे फर्किएन, डेढ घण्टापछि हेर्दा मृत भेटिएको बताएका छन् । तर सिद्धान्तसँग सँगै गएका ड्राइभरलाई भने साहले यहाँ आएको छैन भनेका थिए ।
ड्राइभर रायका अनुसार सहदेव होटलमा सिद्धान्त र ड्राइभर रायले मदिरा सेवन गरेका थिए । त्यसपछि सिद्धान्त राति १०ः४० बजे सहदेव होटलबाट निस्किएर नजिकै रहेको शम्भु होटलमा गएका थिए । राति ११ बजे ड्राइभरसँग कुरा हुँदा म आइहाल्छु भनेका सिद्धान्त नआएपछि ड्राइभर खोज्न निस्किएका थिए । शम्भु होटल सञ्चालकलाई यहाँ मान्छे आयो भनेर सोध्दा छैन भन्दै हप्कीदप्की गरेको ड्राभइभरले बताएका छन् । हत्याको प्रशस्त प्रमाण हुँदाहुँदै प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भट्टराईको परिवारको गुनासो छ ।
साउन २४ गते साँझ नै विराटनगरमा सिद्धान्तको अन्त्येष्टि गरिएको थियो । सिद्धान्तको शवमा दागवत्ति दिएर १३ दिन काममा बसेका उनका माइला काका तारानाथ भट्टराईले पैसा असुल्न अपहरण गर्ने क्रममा हत्या भएको हुन सक्ने आशंका गर्दै सुक्ष्म र निष्पक्ष अनुसन्धान गरेर दोषीलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले भने अनुसन्धान भइरहेको बताएका छन् । घटनामा जोडिएको पाइएपछि झापाबाट एक युवतीलाई पक्राउ गरी ल्याइएको उनले बताएका छन् । उनीसँग वयान लिने काम भइरहेको र उनको वयानमा अरु तथ्य र संलग्नता खुल्ने विश्वास गरिएको उनले बताएका छन् । होटल सञ्चालकका छोरा र एक कामदारलाई पक्राउ गरि राखेको र आवश्यक परे सञ्चालक शम्भुलाई पुनः पक्राउ गरिने डीएसपी बस्नेतले बताएका छन् । तर प्रहरीले छोडेपछि होटल सञ्चालक साह फरार भएको स्थानीयले बताएका छन् ।

























