कञ्चनपुर । सडकमा लतारिएको विजुलीको तारबाट करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० सुकासालमा करेन्ट लागेर स्थानीय ३५ वर्षीय दिनेश ओडको मृत्यु भएको हो।
पूर्वपश्चिम राजमार्गमा लतारिएको विद्युतको तारबाट बुधबार वेलुका ओडको मृत्यु भएपछि त्यसको विरोधमा स्थानीयले गरेको विरोध प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्ग बन्द भएको छ ।
करेन्ट लागेर घाइते उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक ओडको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।
विद्युत प्राधिकरणले लापरबाहीले तार भुइँमा लतारिँदा करेन्ट लागी ज्यान गएको भन्दै आफन्त र स्थानीयले बिहीबार बिहानैदेखि सुकासाल क्षेत्रमा टायर बालेर पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् ।
तारलाई व्यवस्थित गर्नुपर्ने र प्राधिकरणको लापरबाहीले तीन छोराछोरी बाबु ओडको ज्यान गएका कारण मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने स्थानीयको माग छ ।