विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कांग्रेसका गयानन्द मण्डललाई राज्यमन्त्री नियुक्त गरेका छन् ।मुख्यमन्त्री थापाले मण्डललाई कृषि राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनले बुधवारै बिहान शपथ ग्रहण समेत गरेका छन् ।
विश्वासको मत लिने समय नजिकिँदै गर्दा थापाले प्रदेशसभा ज्येष्ठ सदस्य मण्डललाई मन्त्री बनाएका हुन् ।
कार्यबाहक सभामुख सिर्जना दनुवारले प्रदेशसभा बैठक नचलाएको खण्डमा ज्येष्ठ सदस्यले चलाउनुपर्ने परिस्थिति सिर्जना हुन सक्ने भएपछि थापाले मण्डललाई राज्यमन्त्रीमा लगेर थन्काएका हुन् ।
सत्ता गठवन्धनलाई कोशी सरकार टिकाउन अनेक जालझेल गर्नु परेको छ । कोशीका सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएर सरकार गठनका लागि वहुमत पुर्याइएको थियो भने विश्वासको मत नपुग्ने भएपछि जेष्ठ सदस्यलाई मन्त्री बनाइएको छ ।
भदौ १३ गतेसम्म थापाले विश्वासको मत लिइसक्नुपर्ने हुन्छ । कोशी प्रदेशमा सभामुख पद अहिले खाली छ, उपसभामुखले सदन नचलाएमा ज्येष्ठ सदस्यले चलाउनु पर्ने हुन्छ । त्यस्तो अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत पाउन नसक्ने भएपछि मण्डललाई मन्त्री बनाएर संसदको अध्यक्षता गर्नबाट रोकिएको हो ।
यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसकेका छन् । जसमा कांग्रेसबाट प्रदीपकुमार सुनुवार सिँचाइ खानेपानी तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा एकीकृत समाजवादीबाट कमल जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन् ।
























