काठमाडौँ । सरकारले जग्गा कित्ताकाट खुला गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जग्गा कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएकोमा खुला गरिएको बताए ।
‘कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ,’ उनले भने ।
जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने उनको भनाइ छ।
गत वैशाखमा पनि मन्त्रिपरिषद्ले नियमावली संशोधन गरी कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो । तर, त्यो संशोधनमा केही अस्पष्टता रहेका कारण कार्यान्वयन गर्न नसकिएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र मातहतका कार्यालयले कार्यान्वयन नगरेपछि पुनः नियमावली संशोधन गरेको हो ।
जग्गासँग जोडिएको सबै समस्या समाधान गर्ने गरी नियमावली संशोधन भएको र जग्गा कित्ताकाट, नामसारी लगायतका काममा सहज हुने छ ।
त्यसैगरी मन्त्रिपरिषद्ले गोरखामा रहेको बहुमूल्य ‘स्टोन’ गोरखा दरबारमै राख्ने निर्णय गरेको छ ।
आर्थिक मन्दीको कारक जग्गाको कित्ताकाट रहेको निष्कर्षसहित सरकारको तीव्र आलोचना भएपछि सरकार कित्ताकाट रोक्काको निर्णयबाट पछि हटेको हो ।
























