काठमाडौं । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको अवस्थामा राजस्व अनुसन्धन विभागले वरामद गरेको तस्करीको सुन गाल्न सुरु गरिएको छ ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने सुरु गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिएका छन् । सुन गाल्ने काम साढे १० बजेबाट सुरु भएको उनले बताएका छन् ।
यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । कार्टुनसहित जोख्दा १५५ केजी भएको थियो भने ब्रेकसुबाट छुट्याइएर जोख्दा सुनको तौल ६० किलो ७ सय ८९ ग्राम भएको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान गरिएको छ ।
सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर परीक्षणको काम थालिने पनि आचार्यले बताएका छन् । त्यसका लागि केही दिन लाग्नेछ। त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्ने उनले बताएका छन् ।
राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । त्यसपछि उक्त सुनसहितको ‘ब्रेक सु’ टक्सार महाशाखामा राखिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको काम राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई दिएको थियो । उक्त घटनामा अहिले सिआइबीले अनुसन्धान गरिरहेको छ।
तस्करीको सुन बरामद भएदेखि नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ । सुन तस्करी प्रकरणमा सरकारकै सेटिङ भएको आशंका गर्दै एमालेले यसको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै आएको छ ।
























