काठमाडौँ । मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्लस टुको शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा फक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोत जनाएको छ ।
काठमाडौं मेडिकल कलेज र नोवेल मेडिकल कलेजका सञ्चालक समेत रहेका शर्मालाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको पुरानै मुद्दामा पक्राउ गरिएको नेपाल प्रहरीको उच्च स्रोतले बताएको छ । शर्माले प्लस टु उत्तीर्ण गर्नका लागि नम्बर नपुग्दा आफैंले थपेको पाइएको प्रहरीको आरोप छ ।
कांग्रेसमा नेता डा. शेखर कोइरालानिकट मानिने शर्माले गत साउन ३ गते त्रिभुवन विमानस्थल परिसरबाट बरामद १०० केजी सुन प्रकरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग पटकपटक गरेका थिए ।
गत साउन १० गते संसद् बैठकमै बोल्दै सांसद शर्माले सुन तस्करीका मुख्य अभियुक्त नसमातिए संसदमै आमरण अनशन बस्ने चेतावनी समेत दिएका थिए ।
उनले भनेका थिए “सुन प्रकरणलाई गुमचुप पारेर गाउँको भरियालाई मात्रै हिरासत राख्ने र मुख्य नाइकेहरू भाग्छन् र अर्थमन्त्री र गृहमन्त्रीले त्यही भुजेललाई मात्रै पक्रेर बस्छन् भने प्रधानमन्त्री फर्केपछि उहाँहरूले तोकेको मितिभित्र भरियामात्रै पक्राउ पर्छ भने यो सदनभित्र म आमरण अनशन घोषणा गर्न चाहन्छु ।”
कांग्रेसकै सांसद शर्माको सार्वजनिक अभिव्यक्तिका कारण अर्थमन्त्री डा. महत र गृहमन्त्री श्रेष्ठ रुष्ट बनेका थिए । गृहमन्त्री श्रेष्ठले सार्वजनिक रुपमा शर्माको नाम लिएर असन्तुष्टि नपोखे पनि कांग्रेसका प्रवक्ता समेत रहेका डा. महतले भने गत साउन १० गते नै सांसद शर्मामाथि कारबाही गर्ने चेतावनी दिएका थिए । शर्माले आफ्नो अस्पतालमा स्वास्थ्य बिमाको व्यवस्था गर्न दबाब दिँदा आफूले नियमसम्मत हुने भनेपछि जथाभावी बोल्दै हिँडेको आरोप मन्त्री महतले लगाएका थिए । महत कांग्रेस सभापति शेरबहादुर देउवा निकटका नेता हुन ।




















