काठमाडौं । संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । जेलर राजेन्द्र घिमिरेका अनुसार नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र संखुवासभाको मादी घर भएका बिनोद तोलांगीको मृत्यु भएको हो ।
बिनोदलाई जबरजस्ती करणी मुद्दामा १८ वर्ष जेल सजायँ तोकिएको थियो भने आकाश चोरी मुद्दामा तीन वर्षका लागि जेल सजाय भोगिरहेका थिए ।
आज बिहान कारागारभित्र झडप हुँदा उनीहरु घाइते भएको र अस्पताल लैजाने क्रममा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिएका छन् ।
सहायक प्रजिअ घिमिरेका अनुसार आज बिहान करिब दुई बजेतिर शौचालयको रड काटेर भाग्ने उद्देश्यले उनीहरु बाहिर निस्किएका थिए । ड्युटीमा खटिएका प्रहरीले देखेपछि उनीहरुलाई नियन्त्रणमा लिएर फेरि जेलमै राखेका थिए ।
बिहान करिब पाँच बजेतिर कारागारमा हल्लाखल्ला मच्चिएको थियो । त्यसपछि जेलरसहितको टोली त्यहाँ पुगेर हेर्दा दुई जना गम्भीर घाइते अवस्थामा फेला परेका थिए । घटनाको अनुसन्धान भइरहेको घिमिरेले बताएका छन् ।
























