काठमाडौँ । विनाअवरोध संसद् वैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले सोमबार मध्यान्ह शीर्ष दलका नेताहरूसँगको बैठक राखेका छन् ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बोलाइएपछि सहमतिका लागि सभामुख घिमिरेले सत्ता र प्रतिपक्षी नेताहरुसँग संवाद गरेका हुन् । साढे १२ बजेदेखि सभामुखले शीर्ष नेताहरुसँग वार्ता गरिरहेका छन् ।
वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागीलगायत कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमाले दलका उपनेता सुवास नेम्वाङ र सचेतक महेश बर्तौला र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी छन् ।
यसअघि गत आइतबार सभामुख घिमिरेले सदनको अवरोध हटाउने विषयमा दलका सचेतकहरूसँग छलफल गरेका थिए । तर सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आआफ्ना अडान नछाडेपछि सहमति हुन सकेको थिएन ।
सुन तस्करी प्रकरण अनुसन्धानका लागि प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने बताइरहेको छ भने
सत्तापक्ष नेताहरुले छानबिन समिति आवश्यक नपर्ने अडान लिइरहेको छन् ।