काठमाडौं । ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी भएको स्रोतले बताएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि गच्छदार, जोशी र श्रेष्ठ प्रतिवादी थिए । सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पूर्जी लिइसकेको छ ।
ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तीमध्ये एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात फरार छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले दिएको निर्देशनअनुरूप छानबिन भएमा त्यसमा पूर्ण रूपले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् भने सर्वोच्चको आदेश आफूलाई थाहा छ भन्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विदेशतिर लागेका छन् ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नीतिगत निर्णयमा संलग्नविरुद्ध पनि अनुसन्धान गर्न सर्वोच्चले आइतबार आदेश दिएपछि पूर्वप्रधानमन्त्रीद्वय नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका डा. भट्टराई र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालमाथि अनुसन्धनका लागि बाटो खुलेको थियो ।
‘ललिता निवासलगायत जुनसुकै प्रकरणमा राज्यका मन्त्रिपरिषद्लगायत सबै तहबाट भएका निर्णयह उपर निष्पक्ष छानबिन गरेर कानुनविपरीत राज्यलाई नोक्सान हुने, निजी लाभ लिने ढंगले कार्य भए÷गरेको भए जतिसुकै उच्च तहको व्यक्ति भए पनि कानुनअनुसार कारबाही गरिनुपर्छ र देशमा विधिको शासन कायम गरिनुपर्छ भन्ने मेरो आजीवन मान्यता र प्रतिबद्धता रहेको छ’, डा. भट्टराईले भनेका छन्, ‘अतः मेरो प्रम कालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन गर्न र आवश्यक कारबाही गर्न सरकार र सम्बन्धित निकायलाई मेरो विनम्र आग्रह छ ।’
उनले अगाडि भनेका छन्, ‘ललिता निवास प्रकरणमा सम्मानित सर्वोच्च अदालतले दिएको निर्देशनअनुरूप छानबिन भएमा त्यसमा पूर्ण रूपले सहयोग गर्न मेरो प्रतिबद्धता रहेको छ ।’
यस क्रममा उनले केही समय पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा दिएको बयानको बेहोरा पनि पुनः सार्वजनिक गरेका छन् ।
यता नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष समेत रहेको पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल विदेश भ्रमणमा गएका छन् ।प्रवासी नेपाली एकता मञ्च युरोपले स्वीटजरल्याण्ड लगायत देशमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

ललिता निवास प्रकरणमा छानबिन गर्न सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्ट नै उनी युरोपका लागि उडेका हुन् ।
उनको सचिवालयका अनुसार टर्किस एअरको विमानबाट नेपाल आज बिहान साढे ७ बजे इस्तानबुल हुँदै जेनेभाका लागि उडेका हुन् ।
सचिवालयले भनेको छ, ‘हिजो सर्वोच्च अदालतबाट भएको फैसलाका सन्दर्भमा उहाँ जानकार हुनुहुन्छ । सबै प्रकारका भ्रष्ट्राचार एवम् अनियमितताको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही हुनुपर्छ र मुलुकमा सुशासन कायम गर्नुपर्छ भन्ने कुरामा उहाँको दृढ मान्यता रहेको छ। उहाँ भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । ’
ललिता निवासको ११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । ११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको मुद्दा नम्बर २४ मा २०९ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
यसैगरी पशुपति टिकिन्छा गुठीको नाममा दर्ता भएको मुद्दा नम्बर २५ मा ११० जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । टिकिन्छा गुठीको नाममा ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा हिनामिना भएको छ ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र तत्कालीन मुख्यसचिव लिलामणि पौड्यालको नामसमेत यही मुद्दामा जोडिने गरेको छ ।
मुद्दा नम्बर २६ (छुट जग्गा दर्ता) मा १२ आना २ पैसा जग्गा हिनामिना भएको छ र यसबारे अनुसन्धान गर्न १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास परिसर विस्तारका लागि नक्कली मोहीलाई जग्गा सट्टापट्टारशोधभर्ना दिएको सम्बन्धी २७ नम्बर मुद्दामा ७४ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
यो मुद्दा २५ रोपनी ७ आना १ पैसा १ दाम जग्गा हिनामिनासँग सम्बन्धित छ ।
२०४९ सालदेखि २०६९ सालको अवधिमा ललिता निवासको १४३ रोपनी भन्दा बढी जग्गा हिनामिना भएको थियो । हिनामिनामा तत्कालीन प्रधानमन्त्री, मन्त्रीका साथै सम्बन्धित मन्त्रालय, गुठी संस्थान र मालपोत कार्यालयका कर्मचारीहरु पनि मुछिएका छन् ।
अनुसन्धानको क्रममा प्रहरीले निर्वाचन आयोगका पूर्वआयुक्त समेत रहेका सुधीर शाह, भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम लगायतलाई नियन्त्रणमा लिइसकेको छ ।



















