काठमाडौं । विदेशमा अध्ययन तथा रोजगारीका लागि जान चाहनेहरुले अब प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न कन्सुलर सेवा विभाग जानुपर्ने बाध्यता हटेको छ ।
आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थित बिभागमा आयोजित एक कार्यक्रमकाबीच परराष्ट्रमन्त्री एनपी साउदले प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण कार्यलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ गरेका छन् । यसअघि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न बिभाग आउनुपर्ने बाध्यता थियो ।
अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण हुने भएपछि सर्वसाधारणको समय र पैसाको बचत भएको परराष्ट्रमन्त्री साउदले बताए । सरकार गठन भइसकेपछि परराष्ट्र सेवालाई सहज र सुलभ वनाउन प्रयास गरेको उनले बताए ।
त्यस्तै मन्त्री साउदले राष्ट्रिय एकतालाई मजबुद गर्ने गरि परस्पर लाभका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापीत गर्न खोजिएको धारणा राखेका छन् । उनले विदेशी नीतिमा सवै पार्टीको सहमति हुनका लागि प्रयन्त जारी रहेको भन्दै राष्ट्रिय सहमतिका लागि सवै दलको बिचार ग्रहण गर्न तयार रहेको बताए ।
वर्तमान सरकार गठन भएपछि प्रधानमन्त्रीको फलदायी भारत भ्रमण भएको र महत्वपूर्ण उपलव्धी हासिल भएको भन्दै मन्त्री साउदले सेप्टेम्वरको अन्तिम सातामा प्रधानमन्त्रीको चीन भ्रमणको तयारी भइरहेको जानकारी दिएका छन् ।
बिभागका अनुसार अनुसार गत आर्थिक वर्ष २०७९/८० मा विभागले तीन लाख ६ हजार २२ वटा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरेको थियो । सेवाग्राहीले अनलाइन आवेदन दिएको २४ घण्टाभित्र प्रमाणीकरण भएको प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराइने बिभागले जानकारी दिएको छ ।
























