बर्दिया । शनिबार बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा दसैँ-तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल-भारत सीमानाका जमुनाहमा भेटिए । उनले नेपालगन्जको गर्मी, शरीरभरि पसिनैपसिना खटकराजले पसिना पुछ्दै बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिम्ला जान लागेको बताए ।
साठी वर्ष पार गरिसकेका उनले बर्खे बाली लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउन भारतको सिमला जाने गरेको बताए। ‘परिवार एक्लैले बर्खा खेती लगाउन सक्दैनन् भनेर म लगाउन आउँछु । खेती लगाइसकिएपछि पैसा कमाउनका लागि फेरि भारतको सिमलामै जान्छु’, उनले भने, ‘मिले दसैँ-तिहारमा घर फर्कन्छु, नमिले साथीभाइ आउँदा उहाँहरूसँगै चाडबाड मनाउने पैसा पठाइदिन्छु ।’
बुढाले ३५ वर्षदेखि खेती लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउन भारत जाने गरेका छन् । नेपालमा जति काम गरे पनि राम्रो पारिश्रमिक नपाउने र पाए पनि ठेकेदारले पैसा नै नदिने गुनासो उनले गरे । ‘नेपालमै केही गरौँ भन्ने सोच र जाँगर भए पनि कामको उचित व्यवस्थापन छैन, न त मूल्य नै छ’, उनले भने, ‘घरपरिवार छाडेर अर्काको देशमा काम गर्न जाने रहर त मलाई पनि कहाँ छ र? तर गुजाराका लागि पनि जानैपर्ने बाध्यता छ ।’
बुढाजझैँ सुर्खेत मेलकुनाका हरि ओली पनि असारे खेतीबाली लगाएर परिवारको छाक टार्न भारतमा मजदुरीका लागि जाँदै गर्दा जमुनाहमा भेटिए । घरमा स्कुल पढ्ने छोराछोरी छन् । पढाउनलाई र दसैँ-तिहारको जोहो गर्न आफू भारत जानुपर्ने बाध्यता भएको उनले बताए । उनले भने, ‘हाम्रो देशमा व्यवसाय गर्न पनि लगानी चाहिन्छ । लगानी लगाएर व्यवसाय गर्न मेरो हैसियतले भ्याउँदैन । रहरले भन्दा पनि बाध्यताले भारतमा मजदुरी गर्न जानुपरेको छ ।’ उमेरले ५६ वर्ष पार गरिसकेका ओलीले भारत गएर कमाउन थालेको २२ वर्ष भएको बताए ।
यसैगरी रोजगारीका लागि भारत जाँदै गरेका दैलेखका विनय क्षेत्रीको पनि कथाव्यथा बुढा र ओलीको जस्तै छ । उनी पनि बर्खे खेती लगाउन घर आएको र खेती लगाएर दसैँ-तिहारको जोहो गर्न भारतको सिमला जान लाग्दै गर्दा जमुनाहनाकामा भेटिए । उमेरले ४८ वर्ष लागेका क्षेत्रीले नेपालमा रोजगारीको अभावसँगै स्वरोजगारका लागि सीप र लागतको पनि अभावले आफू वर्षैपिच्छे भारत जानुपरेको बताए । ‘आफूसँग हातमा सीप छैन, व्यापार-व्यवसाय गर्न लगानी छैन, अनि महिना दिन ढुक्कले काम गर्ने रोजगारी पाइँदैन । भारतमा त जस्तो भन्यो त्यस्तै काम पाइन्छ अनि दाम पनि । त्यसैले मजदुरी गर्न भारतको सिमला जान लागेको हुँ ।’
बुवा र काकाको साथमा सानै उमेरदेखि भारतमा गएर मजदुरी गर्ने गरेका विनयले बताए । १८ वर्षदेखि भारतमा गएर काम गर्न सुरु गरेका विनयलाई सुरुमा भारतमा जान आफ्नो देशको नाका पार गर्दा नमज्जा लागेको अनुभव सुनाए । ‘पहिलोपटक काम गरेर पैसा कमाउन बुवा र काकासँग भारत गएको थिएँ । त्यतिबेला यही नाकामा म मनैमन रोएको पनि थिएँ । साह्रै नमज्जा लागेको थिए । अहिले त बानी परिसक्यो’, उनले भने, ‘आफ्नै गाउँठाउँमा बस्ने रहरलाई मारेर अर्काको देशमा खुन पसिना बगाउन मलाई मन छैन तर यो बाध्यता हो ।’
प्रत्येक वर्ष नेपालगन्जस्थित जमुनाहनाका हुँदै दसैँ-तिहारका लागि खर्च जुटाउन भारत जाने नेपालीको लर्को लाग्ने गर्दछ। यस वर्ष पनि असारे खेतीबाली सकेर दसैँ-तिहारका लागि खर्च जुटाउन भारत जाने नेपालीको लर्को सीमानाकामा देख्न सकिन्छ। असारे खेतीबाली लगाएर रोजगारीको सिलसिलामा दैनिक भारत जाने नेपालीको सङ्ख्या योपटक भने दुई सयभन्दा बढी भएको सीमानाका जमुनाहले जनाएको छ । रासस