चितवन । चितवनको रत्ननगर नगरपालिकाले श्रम स्वीकृति दिन सुरुआत गरेको छ । वैदेशिक रोजगारीमा जाने युवालाई शुक्रबारदेखि पालिकाबाटै औपचारिकरूपमा श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरिएको हो । जेठ महिनाबाट श्रम स्वीकृति दिन सुरु गरिएको भए पनि औपचारिक गरेर सो सेवा थालिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार नगरपालिकाले रोजगार सेवा केन्द्रबाट उक्त सेवा सुरु गरेको नगरप्रमुख प्रलाद सापकोटाले बताएका छन् । उनले पालिकाबाट श्रम स्वीकृतिको सेवा सुरुआतसँगै काठमाडौँ जानुपर्ने बाध्यता हटेको बताए । “काठमाडौँबाट लिदै आएको हरेक सेवा स्थानीय सरकारमार्फत दिनुपर्छ”, उनले भने, “यसले नागरिकको समय र पैसाको बचत हुन्छ ।”
नगरप्रमुख सापकोटाले यसअघि बाहिर गएर श्रम स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झन्झट हुने गरेको भन्दै स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहजै सेवा पाउने बताएका छन् । श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउन उनले सुझाव दिए ।
सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो श्रम स्वीकृतिपत्र प्रदान गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । स्थानीय सरकारबाट श्रम स्वीकृतिपत्र लिएपछि भिसा लागेको मान्छे काठमाडौँका मेनपावर र मन्त्रालयमा धाउनु नपर्ने उनको भनाइ छ ।
जेठ महिनायता रत्ननगरबाट १५ जनाले श्रम स्वीकृति लिइसकेको रोजगार सेवा केन्द्र संयोजक चन्द्रा बस्यालले जानकारी दिए । यो अवधिमा ५० बढी युवालाई वैदेशिक रोजगारसम्बन्धी परामर्श दिएको उनले बताए ।
























