काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय सुनाइएको छ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको हो ।
७० वर्षीय क्रिकेटरबाट राजनीतिज्ञ बनेका उनीमाथि सन् २०१८ देखि २०२२ सम्म आफ्नो प्रधानमन्त्री पदको दुरुपयोग गरी सरकारी स्वामित्वमा रहेका उपहार खरिद बिक्री गरेको आरोप लागेको थियो ।
आफूमाथिका आरोप खानले अस्वीकार गर्दै आएका छन्। उनलाई एक लाख रुपियाँ पनि जरिवाना गरिएको छ।
शनिवार अपराह्न १२ बजेपछि तोसाखाना मामिलाको सुनुवाइ तेस्रो पटक सुरु भएको थियो। त्यसमा इमरान खानका वकिल अनुपस्थित रहेका थिए।
खानका वकिल इन्तजार हुसैनले रोएटर्स समाचार संस्थालाई पूर्वप्रधानमन्त्रीलाई उनको लाहौरस्थित घरबाट नियन्त्रणमा लिइएको बताएका छन्।
पाकिस्तान चुनाव आयोगका वकिल अमजद परवेजले यो अदालतको सजायसँगै इमरान खान पाँच वर्षसम्म चुनावमा भाग लिन अयोग्य बन्ने बताएका छन्।
गएको मे महिनामा अदालतमा अनुपस्थित भएको आरोपमा उनलाई पक्राउ गरिएको थियो। सो गिरफ्तारीलाई गैर कानुनी घोषणा गरिएपछि उनी रिहा भएका थिए।
खानले निर्वाचन आयोगलाई बुझाएको विवरणमा ती सम्पत्तिबारे उल्लेख गरिएको थिएन। त्यसपछि आयोगले खानलाई प्रधानमन्त्री हुँदा आफूले पाएका उपहारहरू बेचेको र उनलाई फौजदारी कानुनमार्फत् सजाय दिनुपर्ने भन्दै जिल्ला अदालतमा उजुरी दिएको थियो। (एजेन्सी)