काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति चित्रबहादुर केसीले राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति केसीले राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको बताए । उनले कुनै पार्टी र व्यक्ति विशेषमात्र नभई सम्पूर्ण राज्यसत्ता नै लुटपाटमा सामेल भएको बताए ।
उनले राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिको निर्वाचन छिटोभन्दा छिटो हुनुपर्ने पक्षमा आफू रहेको बताए ।
उनले समितिको बैठक बस्न नसक्नुमा आफ्नो मात्रै दोष नभएको भन्दै उनले यसको दोष सबैले लिनुपर्ने बताए । बैठक बस्नका लागि आफूले समिति सदस्यहरुसँग छलफल गर्दा एजेण्डा छैन भनेर पन्छाइएका कारण बैठक बस्न नसकेको उनले जानकारी गराए ।
उनले आजको बैठकमा गृहमन्त्रीलाई बोलाइएको भए पनि नेकपा(माओवादी केन्द्र)को केन्द्रिय कमिटी बैठकका कारण गृहमन्त्री आउन नसक्ने जानकारी आफूलाई गराएको बताए । उनले मुलुकको तस्बिर डरलाग्दो देखिएको भन्दै सबैले जिम्मेवार भएर सडक, सदन र समितिमा गम्भिर रुपले अगाडी जानुपर्ने बताए ।



















