काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा आफ्नै पार्टीका नेता कार्यकर्ता संलग्न भए पनि कारबाही गर्ने उद्घोष गरेका छन् ।
बिहीबार पनि जारी पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै श्रेष्ठले प्रमाण भेटिए पार्टीका नेता समेतलाई कारबाही गर्ने बताएका हुन् ।
‘निर्दोष नफसुन्, दोषी नउम्किउन् भन्ने मान्यताअनुसार सरकारले अनुसन्धान गरिरहेको छ । यस्तोमा जोसुकै होस् चाहे हाम्रै पार्टीका नेता कार्यकर्ता नै किन नहुन् दोषी पाइए कारबाही भोग्न तयार हुनुपर्छ’, श्रेष्ठले भने ।
श्रेष्ठले सरकारले भ्रष्टाचारको फाइल खोलेका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सल्लाहमा फाइल खोलेको बताउँदै छानबिनको क्रममा पार्टीभित्रकै दोषी देखिए कसैलाई नजोगाउने बताए ।
माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी छ । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सङ्क्षिप्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् ।



















