काठमाडौँ । कोशी प्रदेशका नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले नयाँ सरकार गठनको प्रारम्भसँगै सत्ताका फोहोरी खेलहरु सुरु भएको बताएका छन्।
कार्कीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सरकार निर्माणमा संविधानको ठाडो उलङ्घन गरी कोशी प्रदेश प्रमुखले मान्यता दिएको बताएका हुन् ।
उनले आफूले मन्त्रिपरिषदको पहिलो बैठकबाट मन्त्रालयहरुको संख्या कटौती गर्दै १३ बाट घटाएर ९ वटा कायम गरेको बताएका छन् ।
प्रदेशवासीको चासोको रुपमा रहेको तर पेचिलो बन्दै गएको प्रदेश नामकरणको विषयलाई प्रदेश सभा भित्रका प्रमुख राजनीतिक दलहरु नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा ( माओवादी केन्द्र) र राप्रपाको सहमतिमा टुङ्गो लगाउने काम सम्पन्न भएको बताए । कार्कीले आफू नेतृत्वको सरकारले छोटो अवधिमा वित्तीय तथा भौतिक विकासको प्रगतिमा उल्लेख्य काम गर्न सफल भएको उल्लेख गरेका छन् ।




















